काठमाडौं - दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको पसिसरका प्रवक्त पवन भट्टराईले जानकारी दिए ।

यसअघि वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।

खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको थियो ।