काठमाडौं - अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीको देशलाई उपाधि दिलाउने सपना फेरि पनि अधुरै रहेको छ । ब्यवसायिक खेलका क्रममा स्पेनिश क्लब बार्सिलोनालाई थुप्रै उपाधि दिलाएका मेस्सीले देशलाई भने उपाधि दिलाउन सकेका छैनन् । 

कोपा अमेरिका फुटबलको उपाधि दिलाउने सपना पनि बुधबार बिहान चकनाचुर भयो । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलबाटै बाहिरिएको छ । अर्जेन्टिनालाई ब्राजिलले पराजित गर्न सफल भएको हो । घरेलु मैदानमा खेलेको ब्राजिलले खेल २–० को गोल अन्तरले जित्यो । 

ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गरे ।खेलको १९ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । चिली र पेरुबीचको दोस्रो सेमिफाइनल बिहीबार बिहान ६ः१५ बजे सुरु हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।