काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव चिन्ह सूर्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा केपी शर्मा ओली समूहमध्ये एकलाई दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले उक्त आग्रह गरेका हुन् ।

नेकपामा अलग–अलग धार देखिएको भन्दै निर्वाचन चिन्हबारे विवाद समाधान गर्न निर्वाचन आयोगलाई देउवाले आग्रह गरेका हुन् । ‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ । निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन ? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो,’ उनले भने ।

त्यस्तै, देउवाले सूर्य चिन्ह कसैलाई पनि नदिएको भन्दै त्यसको छिनोफानो गर्न आयोगलाई आग्रह गरेका हुन् ।  ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने ? सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो । सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’

सभापति देउवाले संसद् विघटनको मुद्दा अदालतमा बिचाराधिन भएको कारणले सर्वोच्च अदालतले स्वविवेकले फैसला गर्ने भएकाले दबाब दिन नमिल्ने बताएका छन् । उनले अदालतले जे निर्णय गरे पनि आफूहरुलाई ठिक हुने बताएका हुन् ।

त्यस्तै, देउवाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने बताएका छन् । तर, चुनावबारे निर्वाचन आयोगलाई मतलब नै नभएको बताएका छन् । ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’ देउवाले आयोगसँग निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।