काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् । आज बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन शहर पुगेका हुन् ।

थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ । भ्रमणका क्रममा ओलीले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनले सेप्टेम्बर १ मा थियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।

भ्रमण तथा कार्यक्रम सकेर प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्कने तालिका छ।