काठमाडौं,रौतहट-जिल्ला प्रहरी कार्यालय रौतहटले १४ वर्षिया बालक कृष्णप्रसाद यादवको हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो ।

वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा भेटिएको थियो ।

यादवको हत्याको आरोपमा प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो ।

रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ ।

बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको रौतहट प्रहरीले जनाएको छ ।

उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।