काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको छ । उक्त समूहले सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। 

बैठकमा संसद् विघटनविरुद्धको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । यो समूहले माघ १३ गतेबाट तेस्रो चरणको आन्दोलन गरिरहेको छ । यो समूहले माघ १४ गतेबाट माइतिघरमा धर्ना दिएको थियो । सो धर्ना भने आइतबारबाट अन्त्य भएको छ । आजको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल सहित अन्य नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत यो समूहले बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो । सभालाई अध्यक्षद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।

यो समूहले माघ २८ गते काठमाडौँमा विशाल सभा आयोजना गर्ने बताएको छ ।  प्रचण्ड–नेपाल समूहले आफूहरुसँग ३०० जना केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । २९७ सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा समेत बुझाएको थियो ।