काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही शक्तिहरु संघीयता, गणतन्त्र, समावेशीताको व्यवस्था ढाल्न लागेको बताएका छन् । नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यस व्यवस्था ढाल्ने खोजिरहेको उनको भनाई छ । 

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले देशमा अनिष्ट हुनसक्ने खतरा रहेकोसमेत बताए ।  उनले सर्वोच्च अदालतले सोच्दै नसोचेको फैसला सुनाएको टिप्पणी गरे । 

‘जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने, हुनै नसक्ने कुरा हुँदैन । देशमा केही अनिष्ट हुँदैछ ? जन्मेको बच्चालाई फेरि भित्र लगिदिने भनेको । हेर्दै जाऊ अझै केही अस्वाभाविक घटना देख्नुपर्ने हो।’ प्रचण्डले भने । 

फागुन २३ गते सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको थियो । 

अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको प्रचण्डको भनाई छ । दलित, जनजातिका लागि जति अधिकार छ, तिनलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने कुरा पनि अहिले मुख्य रुपमा उठ्न थालेको उनले बताए ।