काठमाडौं  - ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव बेलायत लगियो

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली हिमाल आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव अन्तिम संस्कारका लागि बेलायत लगिएको छ।

परिवारको इच्छाअनुसार पुर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामावादबाट बेलायत लगिएको हो । पुर्जाको अन्तिम संस्कार बेलायतमै गरिने तयारी गरिएको छ। ब्रोड पिकमा गएको हिमपहिरोमा परी पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये ६ जना नेपाली रहेका छन्।

हिमपहिरोपछि दुर्घटनास्थलबाट निर्मल पुर्जासहित चार नेपालीको शव गत शुक्रबार पाकिस्तानको राजधानी इस्लामावाद ल्याइएको थियो। इस्लामावाद ल्याइएका शवमा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेका थिए।

मृत्यु भएका नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव यसअघि नै बिहीबार नेपाल ल्याइएको थियो।

यता, ब्रोड पिकको दुर्घटनास्थलमा अझै एक नेपालीसहित तीन जनाको शव रहेको जनाइएको छ। घटनास्थलमा नेपाली आरोही नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव रहेको बताइएको छ।

भौगोलिक रूपमा अत्यन्त कठिन तथा प्रतिकूल मौसमका कारण घटनास्थलमा रहेका शव संकलन गरी ल्याउन कठिनाइ भइरहेको स्रोतले जनाएको छ।

इस्लामावाद ल्याइएका बाँकी तीन नेपालीको शव आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल ल्याउने तयारी भइरहेको छ।