काठमाडौं - नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज धावनमार्गमै दुर्घटना भएको छ ।

जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा फुस्किएपछि बिहीबार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार १३ जना यात्रु बोकेको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रा फुस्किएर धावनमार्गमै रोकिएको थियो।

दुर्घटनामा जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्। जहाज धावनमार्गमै रोकिएपछि विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।

धावनमार्ग मर्मत तथा जहाज हटाउने काम भइरहेको छ ।