काठमाडौं - गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी रकम मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ जम्मा रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री वितरण, खोज तथा उद्धार कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



