प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य
काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको हो ।
जसका लागि दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसद अलिले अर्धशतकीय पारी खेले । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्याटर दिनेश खरेलले ६० रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए । रासिद खान ४४ रन बनाए । कप्तान आरिफ शेखले ५० रनको अर्धशतीय पारी खेले ।
दिलसद अलि ५१ रनमा अविजित रहे । एपीएफको लागि कमलसिंह ऐरी र अमर सिंह रौतेलाले २(२ विकेट लिए । युवराज खत्री, कप्तान रोहित पौडेल र नन्दन यादवले १/१ विकेट लिए । एपीएफले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । एपीएफ र पुलिस दुवैको यो दोस्रो खेल हो ।
एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो पुलिसले भने पहिलो खेल त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो ।
यस्तै अर्को खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ ।
यसअघि हिजो भएका खेलमा लुम्बिनी प्रदेशले कोशी र सुदूरपश्चिमले कर्णाली प्रदेश विरुद्ध प्रभावशाली जित निकालेका थिए।
चैत ७ गतेदेखि सुरु भएको खेल वर्षाका कारण रोकिएपछि लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १/१ अंक बाँडेको थियो।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।
प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस