काठमाडौं - सोलुखुम्बुको लुक्लाभन्दा माथि पर्ने फेरिचेमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर पल्टिएका छन् ।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार बिहान करिब ८ः१५ बजे फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने उक्त स्थानमा दुर्घटना भएपछि नजिकैको अस्थायी प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ भने अर्का घाइतेको उद्धार भइरहेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गर्ने काम भइरहेको उनले बताए ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । दुर्घटनाबारे थप जानकारी संकलन गर्न लुक्लाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

.gif)


