काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले गृहसचिवबाट राजीनामा दिएका प्रेमकुमार राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् । मन्त्रालयमा सोमबार राईको बिदाइ कार्यक्रममा थापाले यस्तो खुलासा गरेका हुन् ।

२२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारदेखि लागु हुने गरी राजीनामा दिएका थिए । ‘उहाँ गृहसचिवबाट मात्रै बिदाइ हुनु भएको हो,’ गृहमन्त्री थापाले भने, ‘उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदै छौँ ।’ गृहमन्त्री थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भएको अनुमान गरिएको छ । थापाले राईको इमान्दारी, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताए ।

 नयाँ पत्रिकाबाट