काठमाडौं - कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको पुष्टि गरेका हुन् । आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना शंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन । हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ।
यस्तै, सोमबार पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना संकलन गरी परीक्षणको काम भइरहेको जनाइएको छ । हाल प्रदेशमा ९३ जनालाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १७ जनाको नमूना संकलन भएको छ ।
यसैबीच, नमूना परीक्षणको स्वास्थ्य सामग्रीहरु प्रदेशमासमेत वितरण सुरु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेका छन् । ‘जो मर्यो, त्यो कोरोनाले मर्यो भन्ने ढंगले जसरी प्रचार प्रसार भएको छ । यो दुःखद कुरा हो’ उनले भने ।

.gif)


