काठमाडौं - विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ।  सोमबार भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको हो। 

इंग्ल्याण्डको चेस्टरमा श्रीलंकाले दिएको ३३९ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो। वेष्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै फाबियन अलेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस गेलले ३५ रन बनाएर आउट भए।

त्यस्तै सिम्रन हिटमायरले २९ रन जोड्दा कप्तान जासन होल्डरले २६ रन बनाए। श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो। श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले।

यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए। त्यस्तै कुशल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२ तथा एञ्जेलो म्याथ्युजले २६ रन बनाए। वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए। जितसँगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ। श्रीलंका तालिकाको छैटौं स्थानमा छ।

पराजित वेष्ट इण्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ। वेष्ट इण्डिज पुछारबाट दोस्रोमा रहेको छ। दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन्।