काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन । अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ देखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिएका हुन । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसको पुर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए ।अनेरास्वियुका पदाधिकारीले गत चैत्र २५ मा बुझाएको ध्यानाकर्षण पत्रको महत्वपूर्ण बुँदाले बजेटमा सम्बोधन गरेको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका थिए । अनेरास्ववियुले बजेटमा स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने, सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम आएको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाए ।

यस्तै सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म दुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था र सोह्र वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलव्ध गराउने लगायतका कार्यक्रम यथाशिघ्र लागू गर्न माग गरेको छ ।

पुँजीबजारको आकर्षणमा सरकारप्रतिको विश्वास

अर्थमन्त्री पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरी तथा कमी कमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिए ।

लगानी पुर्व बित्तिय विवरण हेर्न आग्रह

सेयर बजार तीव्र रूपले बढेपछि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउँदै जोखिम बहन गर्न सक्ने गरी मात्र लगानी गर्न आग्रह गरेको छ । बोर्डले लगानीकर्तालाई सचेत गराउँदै सेयर बजारमा लगानी बढाउँदा देशको आर्थिक परिदृश्यदेखि, सूचीकृत, संगठीत संस्थाको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण गरेर मात्र लगानी गर्न आग्रह गरेको हो । लगानीकर्ताले सेयरमा लगानी गर्दा उक्त कम्पनीको प्रति शेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, बुक भ्यालुमा बजार मूल्यको अनुपात हेरेर मात्र लगानी सम्बन्धी निर्णय लिन भनेको छ । साथै, परिसूचक र कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दे आग्रह गरेको छ ।

शेयर बजार बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा लगानीकर्ताहरू चनाखो हुन जरुरी रहेको भन्दै बोर्डले बजारको विगतको प्रवृत्ति समेतलाई हेरेर सजग भई सुझबुझपूर्ण ढंगले लगानी सम्बन्धी निर्णय लिन लगानीकर्तालाई भनेको छ ।