विराटनगर - सुनसरीको देवानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले आठबुँदे निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबारबसेको बैठकले सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साम्प्रदायिक एकता कायम राख्न राहत, सुरक्षा तथा समन्वयका विभिन्न आठबुँदे निर्णय गरेको हो।
बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहता का परिवारलाई प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै, आगजनीबाट क्षति बेहोरेका परिवार र घाइतेलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ।
यसैगरी बैठकले पालिका तहमा सर्वदलीय बैठक आयोजना गरी सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय प्रशासनको समन्वयमा सद्भाव यात्रा र संयुक्त सार्वजनिक अपिल जारी गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त रूपमा सामाजिक सद्भाव कायम गर्न पहल गर्ने, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाउने तथा घाइतेको उपचार र पीडित परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकले अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै कानुनी प्रक्रिया र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रहसमेत गरेको छ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार बैठकले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

.gif)



