काठमाडौं - हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले हारेको छ ।यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आदिल आलामले ३२ रन बनाए । सन्दीप जोराले नटआउट ३१ रन जोडे । नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। चुनौतीपूर्ण लक्ष्य बनाएके यूएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक हिर्काए ।

उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएका थिए। नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एक/एक विकेट लिए।