काठमाडौं - सरोकारवाला निकायहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयसँग सोमबार बिहान भएको छलफलमा  र सरोकारवाला पक्षले यस्तो सुझाव दिएका हुन् । परीक्षाहरु आइरहेको र कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट गर्न नहुने उनीहरुको सुझाव छ । 

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेल, नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका थिए । विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको र विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्नेसमेत उनीहरुले धारण राखेका छन् । 

छलफलमा आएका सुझावहरुलाई मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।