काठमाडौं- नेपाल सरकारले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको घोर भर्त्सना गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको हो।
मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
विज्ञप्तिमा नागरिक र सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुनेमा जोड दिँदै नेपालले आक्रमणको निन्दा गरेको छ।
“कुनै पनि बहानामा नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाउनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन तथा विवाद र द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।

.gif)


