सावधानीपूर्वक मनाइयो दुई हजार ५६५ औँ बुद्ध जयन्ती
काठमाडौं - कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।
प्रत्येकवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु-याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए ।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्केका थिए । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पु-याए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन । गत वर्ष पनि कोरानाबाट बच्न देशभर बन्दाबन्दी गरिएकाले बुद्ध जयन्ती भौतिक दूरी कायम गरी सीमित बौद्ध गुरुले चैत्य, गुम्बा, विहारलगायत धार्मिक स्थलमा पूजा आराधना गरी मनाएका थिए ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताए । बौद्ध क्षेत्रका स्थानीयवासीलाई बेलुकी घर घरमा दीपावली गरी शान्तिको सन्देश दिनसमेत आह्वान गरिएको छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । कोरोनाका कारण गत वर्ष र यस वर्ष पनि बौद्ध, स्वयम्भूलगायत धार्मिक स्थल सुनसान बने । बिहान बुद्ध पूर्णिमाका अवसरमा गरिने पूजा, पाठ गरिएपनि अरु औपचारिक कार्यक्रम नगरिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाले सुनाए ।
फेसबुक पेज Like गर्नुहोस