निगममा ईआरपी प्रणाली सुरु, पेट्रोलियम पदार्थको चुहावटलाई नियन्त्रण गर्ने
काठमाडौं - नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेको छ । म्यानुअल रुपमा रहेको कामलाई विद्युतीय (डिजिटलाइज) गर्नका लागि निगमले शुक्रबारबाट उक्त प्रणाली सुरु गरेको हो ।
ईआरपी प्रणाली सुरु गरेसँगै एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि सहज हुनेछ । पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार गर्न सकिनेछ । यसले निगमको काम छिटो छरितो हुनुका साथै जनशक्ति पनि कम लाग्नेछ । निगमको ट्यांकरमा हुने गुणस्तर चोरी, ढुवानीका क्रममा हुने चुहावट तथा मिसावटलाई नियन्त्रण गर्न सकिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजानेछ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी गर्न सकिने छ । ट्यांकरको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ ।
अब ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् ।
फेसबुक पेज Like गर्नुहोस