सप्तरी - सप्तरीमा मृत भेटिएकी दुई वर्षीया नाबालिकाको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्लाको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकका स्थानीय मोहम्मद इरफानकी तीन वर्षीया छोरी खुशी भनिने सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा सानिया मृत फेला परेकी थिइन् ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
सप्तरीका प्रहरीका अनुसार उक्त व्यक्ति मृतक बालिकाकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुन रहेकी छन् । प्रहरीका अनुसार मृतकका बुवा इरफानकी जेठी र कान्छी गरी दुई वटा पत्नी छन् ।
स्थानीयका अनुसार उनीहरूबीच ‘सम्पत्तिको हकदार को हुने ?’ भन्ने विषयमा समेत विवाद थियो। इरफानकी जेठी पत्नी र छोरी पुर्ख्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही स्थान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। शनिबार पनि सोही विषयमा दुई पत्नीबीच विवाद भएको थियो ।
त्यसको भोलिपल्ट बालिकाको हत्या भएको प्रहरीले जनाएको छ। इरफान भने हाल वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनाको थप अनुसन्धानका भइरहेको छ ।
घटनाको विरोधमा स्थानीयले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराएका थिए। स्थानीयको प्रदर्शनका कारण केहीबेर राजमार्गसमेत अवरुद्ध भएकोमा अहिले बजार र राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।

.gif)


