काठमाडौं - भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपालले २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ।

जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापना गरिएको हानि–नोक्सानी कोषले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कोषको बोर्डले बिहीबार, कात्तिक ५ गते बसेको विशेष बैठकबाट नेपाललाई अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको हो।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त विपद्बाट एक हजार ५०० भन्दा बढीले ज्यान गुमाएको र पाँच हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण छ। बाढीबाट १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।