काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गर्ने जनाएको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियान उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानसँगै आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशनसमेत गर्ने पार्टीको तयारी छ।

पार्टीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविकाका सवाल सम्बोधन तथा संगठन सुदृढीकरणलाई अभियानको मुख्य उद्देश्य बनाएको छ। यस अवधिमा पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजन पूरा गर्ने, संगठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

अभियानका क्रममा जनतासँगको सम्बन्ध सुदृढ बनाउन जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक तथा रचनात्मक गतिविधि र श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गरिने नेकपाले जनाएको छ।

त्यस्तै, जनताका माग तथा दैनिक जनजीविकासँग जोडिएका समस्या संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने कार्यक्रम पनि छ। विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने योजना पार्टीले अघि सारेको छ।

नेकपाले महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा र सुशासनसँग सम्बन्धित विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।