काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । 

बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताएका हुन् । 

विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे ।

उनले संविधानको मर्म, भावना र नेपाली नागरिककाे चाहना विपरीतका काम भए दुर्भाग्य हुने समेत बताए । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका छन् । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफूहरू आधिकारिक पार्टी भनी दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उहाँले त्यसलाई हिसाब नगरि केपी ओलीको धम्क्याइलाई मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उहाँको भनाइ छ । 

संवैधानिक निकायमा पुगेका मान्छेहरूले खेलाँची ठाने, देश र नागरिकले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्न नहुने बताए । उनले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरू फर्किन थालेको समेत बताउनुभयो । ओली सरकारका दुई जना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफूसँग वार्ता गरिरहेको उहाँले दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो चुनाव क्षेत्रमा राम मन्दिर बनाउने बताएको बताउँदै अध्यक्ष दाहालले त्यस भूमि रामभूमि भएको ऐतिहासिक र पुरातात्त्विक रूपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताए ।