काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई आघात पर्ने गरी उत्तेजित नहुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले सहभागी सदस्यहरुलाई यस्तो बताएको स्रोतले जानकारी दिएको छ ।

‘संवादका लागि प्रयास जारी राखौं, धेरै उत्तेजित नबनौं। पार्टी एकतालाई आघात पर्ने काम नगरौं,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । उनले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ’ उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो । यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । त्यसपछि बैठक पुनः सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित रहेका छन् ।