काठमाडौं - १९ चैतदेखि सञ्चालन हुने कक्षा १० को परिक्षा (एसइइ) को तयारी  अन्तिम चरणमा पुगेको छ ।

प्रश्नपत्र छाप्ने काम सम्पन्न भैसकेकाले सबै प्रश्नपत्र १४ चैत भित्रमा ७७ वटै जिल्लामा पुर्याइने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा बोर्डका परिक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सोलुखुम्बु, ओखलढुंगा, मुस्ताङ लगायत केही जिल्लाका प्रश्नपत्र पठाउन बाँकी छन्। 

उनले भने- 'जिल्ला जिल्लामा पुर्याइने प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालयको सुरक्षामा राखिएका छन्। त्यहाँबाट परिक्षा सञ्चालन केन्द्रका केन्द्राध्यक्षले प्रश्नपत्रहरु परिक्षा केन्द्रहरुमा पुर्याउँछन्। मुस्ताङको प्रश्नपत्र १३ चैतमा पठाउने तयारी छ, ढिलोमा १४ चैतभित्रमा सबै जिल्लामा आवश्यक सबै कागजातहरु पुग्छन्।'

बोर्डका अनुसार यस शैक्षिक सत्र २०८२ को नियमित तथा ग्रेडवृद्धि तर्फको एसइइ परिक्षामा देशभरबाट लगभग ५ लाख ९ हजार विद्यार्थी सहभागी हुँदैछन्।

परिक्षा सञ्चालनका लागि एक हजार ९ सय ६१ केन्द्रहरु तोकिएका छन्। राष्ट्रिय परीक्षा बोर्डको बैठकले ७ माघमा गरेको निर्णय अनुसार आगामी १९ चैतदेखि २९ चैतसम्म सञ्चालन हुने छ।  परिक्षा समय भने विहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।