विराटनगर - सुनसरीमा देवानगञ्ज घटनापछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश आज बिहान १२ः१५ बजेदेखि फुकुवा गरिएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा लगाइएको प्रतिबन्ध हटाइएको छ।

यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमास्थित महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि सम्भावित थप तनाव रोक्न प्रशासनले कर्फ्यु लागू गरेको थियो।

सुरक्षा अवस्था सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु हटाएको जनाएको छ।