काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गरेकी थिइन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’ को नीतिमा अघि बढाएको बताए । दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ती खोप खरिदका लागि तयारी गरेको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ आज बिहान ल्याइएको हो । चीन सरकारको सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।