काठमाडौं - काठमाडौं उपत्यकाको अझैं चिसिँदै गएको छ । आज(बुधबार) बिहानको मापन अनुसार न्युनतम तापक्रम २.९ थियो तर आज बिहीबार अझै घटेर ०.९ डिग्री पुगेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो ।

मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । त्यसको ३ घण्टापछि गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको छ । दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ ।

०.९ काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।

महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । डडेल्धुरामा १.७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३.५ र ताप्लेजुङमा ४.४ सेन्टिग्रेड न्यूनतम तापक्रम छ 

जाडोका कारण जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी बढी प्रभावित हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । जाडोको बेला सकेसम्म घर बाहिर ननिस्कन, न्यानो कपडा लगाएर बस्न, तातो झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने उनीहरुको सुझाव छ । कोठाभित्र ब्रिकेट, कोइला, मकल वा हिटर बालेको बेला हावा पास हुने गरी झ्याल खुल्ला राख्नुपर्छ । अन्यथा अक्सिजनको कमी हुँदा मानिसको ज्यानै जानसक्छ ।

केही दिन अगाडि मात्रै कीर्तिपुरमा मकल बालेर सुतेका आमा छोराको सुतेकै अवस्थामा मृत्यु भएको थियो ।