काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मघर जाने भएका छन् । ओलीले तेह्रथुमस्थित आठराई गाउँपालिका ४ को इवाको तीनसल्लेमा रहेको घरमा आईतबार ६९ औँ जन्मदिन मनाउन लागेका हुन् ।

ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।