काठमाडौं - बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को १७औं मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । 

बिहीबार विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठक म्यान्मारमा एक महिनादेखि भइरहेको नरसंहारको विषय नउठी सकिएको हो । बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । तर, सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले पूर्वनिर्धारित विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखेपनि म्यान्मारमा भैरहेको सैनिक कू को विषय नउठेको हो । 

गत फेब्रुअरी १ मा आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्। तर, सेनाले बल प्रयोग गर्दै पाँच सयभन्दा बढी  प्रदर्शनकारीको ज्यान लिइसकेको छ । 

यस्तै, बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको छ । पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।