काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको र सो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गरेको स्रोतले बताएको छ । 

अध्यक्ष प्रचण्डले पार्टी एकता विपरीतको गतिविधि भएकोमा प्रधानमन्त्री ओलीविरूद्ध असन्तुष्टि पनि जनाएका थिए। स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पनि मुख्यमन्त्री शाहीविरुद्ध जे प्रस्ताव आएको छ त्यो ठिक नभएको बताएका थिए ।

यसअघि बिहान खुमलटारमा भेट्न गएका नेताहरुलाई अध्यक्ष प्रचण्डले व्यक्तिगत स्वार्थमा लागेर प्रदेश सरकार फेरबदलमा लाग्नु उचित नभएको बताएका थिए ।

सांसद यामलाल कँडेलको अगुवाइमा कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध आइतबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।