सुनसरी - इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको जनाएको छ।

इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो।  

वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जुवाखालबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, वडा नम्बर ८ का ४२ वर्षीय मनोज राई, ५२ वर्षीय ईश्वर कार्की वडा नम्बर ४ का ४० वर्षीय टीकाराम गेलाल,४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।

पक्राउ परेका आठै जनालाई बरामद गरिएको नगद र ताससहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।