बागलुङको घटना निन्दनीय भन्दै कांग्रेसद्वारा दोषीलाई कारबाहीको माग
काठमाडौं - प्रतिपक्षी दल नेपाली कांग्रेसले बागलुङको घटना अत्यन्तै निन्दनीय भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सीमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।
आइतबार होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगमा दुई युवाको हत्या भएको थियो । कांग्रेसले उक्त घटनाको पछाडि योजनाबद्ध षड्यन्त्र भएकोले घटनाको यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न कांग्रेसले सरकार समक्ष माग गरेको छ ।
घटनामा प्रकाश कुंवर र दीपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको कांग्रेसको दाबी छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमबार बिहान घटनास्थल जाने कांग्रेसले विज्ञप्तीमा जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस