काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुंगा (हुंकु) खोलामा पहिरो खस्दा करिब १५ मिटर अग्लो ड्याम बनेको छ । खोलामा अझै पहिरो खसिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार शुक्रबार बिहान करिब ७ बजेदेखि निरन्तर पहिरो खस्दा खोलामा पानी थुनिएर ताल बन्न थालेको हो।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले हुंगा (हुंकु) खोलामा पहिरोले १५ मिटरको ड्याम बनेको जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खोलामा थप पहिरो खसिरहेको छ। त्यसैले हुंगा (हुंकु) खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले शुक्रबार बिहान ८ः४० बजे सूचना जारी गर्दै खोलामा बनेको ड्यामका कारण जोखिम बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

.gif)


