काठमाडौं - राष्ट्रिय अनुसन्धान विभागका एसपीलाई हनिट्रयापमा फसाएर पैसा असुलेको आरोपमा पक्राउ परेकी महिला जेल चलान भएकी छिन् ।

जिल्ला अदालत, काठमाडौंले बुधबार कुसुम गुभाजू गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । 

गुप्तचरका एसपी प्रकाश आचार्यको जाहेरीका आधारमा उनी गत महिना पक्राउ परेकी थिइन् । अनुसन्धान पूरा गरी उनीविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुर दायर भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार उनीहरुबिच चार वर्षअघि फेसबुकमार्फत परिचय भएको थियो। परिचय भएलगत्तै बालुवाटारको क्याफेमा भेटघाट र कुराकानी हुने गरेको थियो। पछि उनीहरु राती बस्ने गरी बाहिर जान थाले । सुरुमा दुवैको सम्बन्ध राम्रै थियो।

पछिल्लो समय आचार्यले वास्ता गर्न छाडेपछि युवतीले विगतमा भएका कुराकानीका स्क्रिनसट पठाउँदै सार्वजनिक गरिदिने तथा बलात्कार मुद्दामा फसाइदिने भन्दै विभिन्न नम्बरबाट धम्काउन थालिन ।

लफडामा पर्ने भएपछि उनले २७ लाखसम्म दिए। तैपनि कुसुमको चित्त बुझेन । उनले ५० लाख मागिन्। त्यसपछि हैरान भएका एसपीले प्रहरीमा उजुरी गरेर उनलाई पक्राउ गराएका हुन्। बैंक खातामै पैसा पठाएको विवरण समेत उनले पेश गरेका थिए ।

कुसुमले आफुले २७ लाख लिएको स्वीकार गरेकी छिन्। २० लाख राजीखुशीले दिएको र सात लाख सँगै बस्ने क्रममा खर्च भएको उनको बयान छ ।

कुसुमका श्रीमान पनि सुरक्षाकर्मी नै हुन्। उनीहरुबिच झगडा हुँदा गत ७ साउनमा कालिमाटी वृत्तमा मिलापत्र समेत भएको थियो ।

तर, त्यसपछि पनि उनीहरुबीच विवाद चर्किदै गएर मुद्दासम्म पुगेको हो ।