काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको स्पष्ट पारेका छन्।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैँले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको स्पष्ट पारेका हुन्।

उनका अनुसार सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेपछि निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

वाग्लेले गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टसहित सातवटा सरकारी उद्योग तथा निकायको विस्तृत मूल्यांकन (डीडीए) भइसकेको जानकारी दिए। डीडीएको निष्कर्षका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरेर निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिन सकिने उनको भनाइ छ।

सरकारी उद्योग निजी क्षेत्रलाई अपरेसनल लिजमा दिने वातावरण बनाइने भन्दै उनले विगतमा देखिएका विवादमा अल्झिएर प्रक्रिया रोक्न नहुने बताए। उद्योग निजी क्षेत्रलाई हस्तान्तरण गर्नुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज, साँवा लगायतका आर्थिक दायित्व भने व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ। हामीले धुलो टक्टक्याएका हौँ। यसलाई एउटा निश्चित बिन्दुमा पुर्‍याएर निजी क्षेत्रलाई नै दिने हो,’ वाग्लेले भने।

सरकारको ध्यान सरकारी सम्पत्ति र दायित्व व्यवस्थित गर्दै निजी क्षेत्रलाई उद्योग सञ्चालनको जिम्मेवारी दिने वातावरण बनाउन केन्द्रित रहेको उनले बताए।

साथै,वाग्लेले निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाका लागि अनुकूल वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको पनि बताए।