सप्तरी गोली काण्ड : आयोगले थाल्यो छानविन
काठमाडौं-सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
आयोगको मधेश प्रदेश कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढमा भएको घटनाबारे अनुसन्धान सुरु भएको जनाएको हो ।
राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा साउन २० गते मंगलबार राति भारततर्फ हुन लागेको मदिरा तस्करी नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर स्थानीय लालुप्रसाद यादवको मृत्यु भएको थियो ।
मृतकका आफन्त र स्थानीयले घटनाबारे आपत्ति जनाउँदै मृतकको बाँच्न पाउने मानव अधिकार उल्लंघन भएको भनी विरोध भएकोले उक्त घटना सन्दर्भमा आयोगले अनुसन्धान सुरु गरेको हो ।
अनुसन्धानका लागि घटनास्थल पुगेको आयोगको टोलीलाई अनुसन्धानका लागि सघाउन आयोगले अनुरोध समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरी र तस्करहरुबी झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा लालुलाई गोली लाग्यो ।
अस्पताल लैजाँदै गर्दा मृत्यु उननको भयो । प्रहरीको गोली लागेर लालुको ज्यान गएपछि स्थानीय तथा आफन्तहरू ठूलो संख्यामा बुधबार प्रदर्शनमा समेत उत्रिएका थिए ।
सामान्य विवादकै क्रममा गोली चलाएर प्रहरीले हत्या गरेको आरोप उनको परिवारको छ । यता प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरेको छ ।
यता, स्थानीयले भने गाउँपालिकास्तरीय सङ्घर्ष समिति नै गठन गरिसकेका छन् । स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको हो ।
सङ्घर्ष समितिले बुधबार नै प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाइसकेको छ ।
यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्वन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र प्रहरी उपरीक्षकलाई अविलम्ब विभागीय कारबाही, उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई सहिद घोषणा गर्दै परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन र सीमाक्षेत्रमा प्रहरी आतङ्क बन्द गरी शान्तिसुरक्षा कायम गर्न माग गरिएको छ ।
मृतक लालु यादवको परिवार र प्रशासनबीच बिहीबार सहमति भने भइसकेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले घटनाको छानबिन गर्न तयार रहेको बताइएपछि सहमती भएको बताए ।
यद्यपी छानविन समिति भने बनिसकेको छैन । त्यसपछि घटनामा खटिएका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई उक्त ठाउँको जिम्मेवारीबाट हटाउने पनि सहमति भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस