काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । 

सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले जसपाका दुवै पक्षले गरेका कारबाहीका निर्णयलाई आयोगले अमान्य भनेपछि गम्भीर असन्तुष्टि जनाएका हुन् । यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर भट्टराईले भनेका छन् - ‘खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह !’  

जसपाका एक अध्यक्ष महन्थ ठाकुरको पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षले एकअर्कालाई गरेको कारबाही आयोगमा पुगेको थियो । यादव र भट्टराई पक्षले बहुमतका आधारमा ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो भने ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निस्कासन गरेको थियो । त्यसमा आइतबार आयोगले दुबै पक्षले एक अर्कालाई गरेको कारवाही कानूनसम्मत नरहेको र पुरानै पदाधिकारी कायम रहने फैसला गरेको थियो ।