काठमाडौं - डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना दुई गोलले पछि परेको अवस्थाबाट अविस्मरणीय पुनरागमन गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

राउन्ड अफ १६ मा इजिप्ट लाई ३–२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि यात्रालाई निरन्तरता दिएको हो।

खेलको १५औँ मिनेटमा यासिर इब्राहिम ले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाए।

त्यसपछि १९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनल मेस्सी गोल गर्न असफल रहे, जसका कारण पहिलो हाफ इजिप्ट १–० ले अगाडि रह्यो।

दोस्रो हाफमा इजिप्टले थप दबाब बनायो। ५७औँ मिनेटमा मोस्ताफा जिको को गोल भीएआरबाट अघिल्लो फाउल पुष्टि भएपछि रद्द भयो। तर उनले ६६औँ मिनेटमा फेरि गोल गर्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याए।