मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ महाशाखाले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस