काठमाडौं-नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिने जोसुकैलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले हिरासतमा रहेका सापकोटामाथि दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको भन्ने आरोप गम्भीर रहेको उल्लेख गरेका छन्।
कांग्रेस सभापति गगन थापालगायत व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने काम भइरहेको भन्ने विषय सामान्य नभएको उनको भनाइ छ।
हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएर दुरुपयोग गरेको, तयार पारिएको कागज पढ्न बाध्य पारिएको र नमाने फसाइदिने धम्की दिइएको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने आङ्देम्बेले बताएका छन्।
सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विवरणले गम्भीर प्रश्नहरू जन्माएको उनको भनाइ छ। अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हुने उनले बताएका छन्।
आङ्देम्बेले सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ वा नियोजित रूपमा फसाउने षड्यन्त्र बुनिँदै छ भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ रु’ उनले प्रश्न गरेका छन्।
यस्तो गतिविधि भइरहेको भए त्यो राजनीतिक प्रतिशोधको विषय मात्र नभई अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हुने उनको तर्क छ।

.gif)


