काठमाडौं - नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि जाने निर्णय गरेको छ। 

मंगलबार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रले सर्वोच्चले नेकपा फुटाएको सन्दर्भमा पुनरावलोकनमा जान सकिन्छ कि सकिँदैन भन्ने विषयमा कानुन व्यवसायीसँग छलफल भएको थियो । उक्त छलफलमा कानुन व्यवसायीले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने र तत्काल पुनरावलोकन गर्न सुझाएका थिए। 

कानुन व्यवसायीले दिएको सुझाव सकारात्मक रूपमा लिँदै त्यसपछि बसेको माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले पुनरावलोकनका लागि यही तत्काल अदालत जाने निर्णय गरेको हो । 

तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते  एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गर्दै सर्वोच्चले गत फागुन २३ गते नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएको थियो । त्यसपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् रूपमा व्यूँतिएका थिए ।