काठमाडौं - कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी १७ वर्षीया युवतीलाई धौलागिरी अस्पताल बाग्लुङमा भर्ना गरिएको छ । संक्रमणपछि पनि युवतीको अवस्था सामान्य नै रहेकाले उनलाई अस्पतालमै निगरानीमा राखेर उपचार सुरु गरिएको हो ।

होम क्वारेन्टाइनमा रहेकी युवतीलाई संक्रमण पुष्टि भएपछि अस्पताल पुर्‍याइएको हो । काठमाडौं पठाउने सहमति भएपनि पछि गृह मन्त्रालयका सचिवले बाग्लुङमै राख्न निर्देशन दिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई कोरोना संक्रमण भएको पुष्टि हिजो सरकारले गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिकका अनुसार युवतीको अवस्था अहिले राम्रो छ भने उनीमा ज्वरो समेत देखिएको छैन । संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । कतार एयरलाइन्सबाट सँगै बागलुङ आएका ४ जना यात्रु मध्य एकजनाको मात्रै स्वाव परिक्षण गरिएपनि बाकी ३ जनाको परिक्षण गर्न बाकी रहेको छ ।