अन्तर्राष्ट्रिय उडान बैशाख १८ सम्म प्रतिबन्ध
काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ ।
यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायण विडारीले अन्तर्राष्ट्रिय उडानलाई बैशाख १८ गतेसम्मका लागि स्थागित गरिए पनि आन्तरिक उडानको विषयमा केही दिनमा निर्णय आउने जानकारी दिए । उनले भने, 'आन्तरिक उडानको विषय विचाराधीन छ । केही दिनमा टुङ्गो लाग्ने छ ।' उनले बैठकमा कोभिड–१९ सङ्क्रमणबाट जनजीवन र नेपाली अर्थतन्त्रमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले ‘इम्प्याक्ट स्टडी’ गर्ने निर्णयसमेत भएको जानकारी दिए ।
बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समीक्षासमेत भएको थियो ।प्रधानमन्त्री कार्यालयका सचिव विडारीले दिएको जानकारी अनुसार, लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका एक लाख १४ हजार ३१६ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै, मुलुकभर ३० हजार ५०६ जना क्वारेन्टाइनमा राखिएका छन् । सरकारद्वारा जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने दुई हजार ६ सय जनालाई सचेत गराएर छाडिएको, दुई हजार २३५ सवारी साधन तथा तिनका चालकलाई कारवाही गरिएको छ ।
बैठकले खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुको आयातलाई नियमित र व्यवस्थित गर्ने निर्णय गरेको छ । यद्यपि, आवागमनमा कडाई र निगरानी पनि बढाउने भएको छ ।
उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जानकारी समेत दिए । उनले कोरोना प्रभावित जिल्लाको रुपमा कैलाली, कञ्चनपुर र बाग्लुङमा द्रूत परीक्षण पद्दति ‘आरडिटी’ मार्फत् परीक्षण गरिने जानकारी दिए ।
त्यस्तै, ‘आरडिटी’ परीक्षणमा ‘पोजेटिभ’ देखिएकालाई ‘पीसीआर’ मेशिनबाट विस्तृत परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । उनले डोटी, जुम्ला र अछाम जिल्लामा पनि ‘आरडिटी’ परीक्षण अगाडि बढाउने जानकारी दिए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस