काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । त्यसमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको छ।

सुरुमा रिट निवेदनको पक्षमा अधिवक्ताहरुले बहस गर्दै आएकामा आजदेखि रिट निवेदन पक्षको बहस सकिने भएको हो।

आइतबार संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ । नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिइएको छ । आजै तेह्रौँ रिटमाथिको बहस सकिनेछ । यससँगै भोलीबाट १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुनेछ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।