काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार  अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका थिए। 

बुधबार अध्यक्षद्वयबीचको छलफलमा पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुनः छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेकाले नेपाल पनि सहभागी भएका हुन्। पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको हुन सकेको छैन। 

साउन २ गतेसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका ओली र दाहालबीच विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि सहमतिमा पुग्न नसकेपछि तीनै जना नेताहरु छलफलमा जुटेका थिए।

बिहीबारको छलफलमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीको राजीनामालाई शर्तको रुपमा अगाडि सारेको बालुवाटार स्रोतको दाबी छ । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएपछि कुरा नमिलेको स्रोतको दाबी छ । 

बालुवाटारमा जानु अगाडि प्रचण्डले बिहीबार बिहान खुमलटारमा वरिष्ठ नेताद्वय नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग सामूहिक छलफल गरेका थिए। 

बुधबार ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए। त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैंसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए। 

साँझ भने दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरे।

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ। पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी हुँदासमेत कुरा नमिलेको हो । ओली र प्रचण्डले नेता नेपालसँग बसेर कुरा टुंगो लगाउने तयारी गरेका भए पनि त्यो प्रयास असफल भएको हो ।