काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेकपाप्रति जनताको विश्वास टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, 'अरुले ल्याएको लोकतन्त्रमा होइन, लोकतन्त्र ल्याउन लडेको नेकपाप्रति भ्रम फैलाउन खोजिएको छ ।' अहिलेको सरकार लोकतन्त्रका लागी लडेको र त्यसैबाट उव्जीएको सरकार भएको भन्दै उनले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको बताए ।

  उनले अहिलेको सरकारको संयमतालाई हेरेर केहि तत्वहरु हौसिएको भन्दै भने, 'सरकार विरोध र आलोचनाको स्वागत गदर्छ तर सरकारको आलोचनाका नाममा संविधान अस्वीकार गर्छु भन्ने बिषय अहिलेको सरकारलाई मान्य हुँदैन ।

प्रधानमन्त्री पदकै बारेमा टिकाटिप्पणी भइरहेको भन्दै उनले भने, 'प्रधानमन्त्री कामीरहेका छन् पद जाने भयो भनेर भन्छन्, पद नजाने विश्वमा कोहि देखेको छैन, आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन, निर्वाचनसम्म धैर्य राख्नुस, प्रधानमन्त्रीलाई हटाउन सकिन्छ भन्ने दिवा सपना नदेखेपनि हुन्छ ।' उनले भने, 'सरकारले उदारता देखाएको नपत्याएर हो, पत्याएका दिन गणतन्त्र र संविधानको रक्षाका लागी मैदानमा उत्रन्छ । 'प्रधानमन्त्री ओलीले सरकारको ध्यान विकास निर्माणमा रहेको बताए ।

उनले आर्थिक बृद्धिदर नेपालको इतिहासको रकर्ड भएको दाबी गरे ।  उनले बिभिन्न आयोजनाको प्रभावकारीताका लागी अनुगमनको व्यवस्था गरेको बताए । 'नयाँ शैलि र नयाँ तरिकाका साथ सरकार अघि बढेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजना अनुमगन गर्ने कक्ष स्थापना गरिएको छ, जसबाट राष्ट्रिय गौरवको आयोजनाको अनुमगन गर्न सकिन्छ – उनले भने  ।